दस्तावेज तथा स्रोत सामग्री
उज्यालो नेपाल पार्टीका सबै आधिकारिक दस्तावेज र स्रोत सामग्रीहरू
विधान
उज्यालो नेपाल पार्टीको विधान पार्टीको संगठन, सञ्चालन, नेतृत्व, सदस्यता, आन्तरिक लोकतन्त्र, अनुशासन तथा निर्णय प्रक्रियालाई व्यवस्थित गर्ने मूल दस्तावेज हो। विधानले पार्टीको उद्देश्य, सिद्धान्त र मूल्यका साथै केन्द्रीयदेखि स्थानीय तहसम्मको संगठनात्मक संरचना, पदाधिकारी तथा सदस्यहरूको अधिकार र जिम्मेवारी, निर्वाचन तथा मनोनयन प्रक्रिया, आर्थिक पारदर्शिता, समावेशिता, जवाफदेहिता र अनुशासनसम्बन्धी व्यवस्था स्पष्ट गर्दछ। लोकतान्त्रिक अभ्यास, विधिको शासन, पारदर्शी नेतृत्व र संस्थागत संस्कृतिलाई आधार बनाउँदै पार्टीलाई व्यवस्थित, उत्तरदायी र जनमुखी राजनीतिक संस्थाका रूपमा सञ्चालन गर्न विधानले मार्गदर्शन गर्दछ।
घोषणापत्र
उज्यालो नेपाल पार्टी घोषणापत्र
सुशासन, समृद्धि र सामाजिक न्यायको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीको यो घोषणापत्रले विगतका राजनीतिक असफलता, भ्रष्टाचार र कुशासनको विकल्पका रूपमा नयाँ राजनीतिक संस्कार, सक्षम नेतृत्व र परिणाममुखी शासन प्रणालीमार्फत सुशासन, समृद्धि र सामाजिक न्याय स्थापना गर्ने दृढ संकल्प प्रस्तुत गर्दछ । जेन जी युवाको ऐतिहासिक आन्दोलनबाट प्रेरित भई स्थापित यो पार्टीले नेपालको संविधानलाई आधार मानी लोकतन्त्र, विधिको शासन, नागरिक स्वतन्त्रता, समावेशिता र राष्ट्रिय हितलाई सर्वोच्च मान्दछ । पार्टीले संघीय संरचनालाई व्यवहारिक र प्रभावकारी बनाउने, निर्वाचन प्रणाली र शासन संरचनामा सुधार गर्ने, पारदर्शी र जवाफदेही राज्य सञ्चालन गर्ने तथा भ्रष्टाचारमाथि कठोर प्रहार गर्ने नीति लिएको छ । आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी पूँजी परिचालन, ऊर्जा, उद्योग, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिँदै देशभित्र र विदेशमा रहेका नेपालीको ज्ञान, सीप र लगानीलाई राष्ट्र निर्माणमा जोड्ने लक्ष्य लिइएको छ । सक्षम, इमानदार र प्रतिबद्ध नागरिकको सहभागितामा नयाँ युगको सुरुआत गर्दै उज्यालो भविष्य सहितको उज्यालो नेपाल निर्माण नै यस घोषणापत्रको मूल सार हो
प्रतिबद्धतापत्र
निर्वाचन प्रतिबद्धता पत्र, २०८२
यो निर्वाचन प्रतिबद्धता पत्र उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचन २०८२ को लागि तयार पारेको हो। यसमार्फत पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्दै नागरिकमैत्री सेवा प्रवाह, डिजिटल र पारदर्शी प्रशासन, जवाफदेही नेतृत्व र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको स्पष्ट प्रतिबद्धता जनाएको छ। शासन खर्च घटाउन सांसद तथा मन्त्रालय संख्या कम गर्ने, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था, विदेशमा रहेका नेपालीका लागि मतदान सहजता र ‘नो भोट’ विकल्प जस्ता सुधारका प्रस्तावहरू समेटिएका छन्। साथै स्वदेशी पूँजी र लगानी प्रवर्द्धन, जलविद्युत् उत्पादन वृद्धि र निर्यात, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, आईटी र उद्यमशीलता विकासमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्यसहित शिक्षा र स्वास्थ्यमा निःशुल्क तथा गुणस्तरीय सेवा, युवा स्टार्टअप सहयोग, पूर्वाधार विकास र विपद् जोखिम न्यूनीकरण लगायत कार्यक्रमहरू प्रस्तुत गरिएको छ।
परिपत्र
उज्यालो नेपाल पार्टीको २०८२ साल फागुन २९ र ३० गते सम्पन्न केन्द्रीय समीक्षा बैठकबाट जारी परिपत्रमा प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा, संगठन सुदृढीकरण, सदस्यता विस्तार, प्रशिक्षण, प्रभावकारी सञ्चार तथा डिजिटल अभियान, स्थानीय मुद्दामा जनमुखी गतिविधि, समावेशी सहभागिता, आर्थिक अनुशासन, सचिवालय गठन, वडा तहसम्म संगठन विस्तार, आगामी निर्वाचनको तयारी तथा छ महिनाभित्र कम्तीमा दुई लाख सदस्य पुर्याउने लक्ष्यसहितको कार्ययोजना जस्ता विषयहरू उल्लेख गरिएको छ।
अन्य दस्ताबेजहरू
यस खण्डमा माथि उल्लेखित दस्तावेजहरू बाहेक पार्टीका अन्य नयाँ तथा महत्वपूर्ण दस्तावेजहरू समावेश गरिनेछन्। नयाँ दस्तावेजहरू थपिँदै जाँदा यस खण्डलाई नियमित रूपमा अद्यावधिक गरिनेछ।